नेपाल सरकार
सहरी विकास मन्त्रालय

सहरी विकास तथा भवन निर्मण विभाग

नयाँ सहर आयोजना समन्वय कार्यालय

बबरमहल, काठमाण्डौं

नयाँ शहर आयोजना समन्वय कार्यालय

काठमाडौ, श्रावण १४ - सरकारले पाँच विकास क्षेत्रका १० स्थानमा नयाँ सहर विकास गर्न ‘जग्गा विकास आयोजना’ सुरु गरेको छ । आवासीय, शैक्षिक, अस्पताल, मनोरञ्जन, वित्तीय संस्थालगायतका भवन निर्माण गर्न जग्गा विकास आयोजना सुरु गरिएको हो । आयोजना उपनिर्देशक राजुमान मानन्धरले परामर्शदाता टोलीद्वारा अध्ययन सुरु गरिएको जानकारी दिए ।

६ वर्षअघि प्रस्ताव गरिएको नयाँ सहर विकास अयोजना सुरुमा परामर्शदाताका कारण ढिला भएको उनले बताए । उनका अनुसार एक वर्षभित्र अध्ययन पूरा गरी एकीकृत विकास आयोजनाको खाका तयार गरिनेछ । निर्माणाधीन पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा निर्माण हुने नयाँ सहरका केही भौतिक पूर्वाधारको काम पनि सुरु गरिएको मानन्धरले बताए । जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमतालगायतका आधारमा ५ वर्षअघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको हो ।

सहर विकास गर्न लागिएकामा पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, तनहुँको डुम्रे, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन छन् । उपनिर्देशक मानन्धरले सिन्धुलीको खुर्कोट र दैलेखको राकम कर्णालीमा सहर विकास गर्न भौगोलिक कठिनाइ हुन सक्ने बताए । ‘नदी किनारमा नयाँ सहर बसाउन अलि विस्तृत अध्ययन गर्नैपर्छ, मानव बस्तीका लागि जोखिमपूर्ण हुन सक्छ,’ उनले भने, ‘बस्ती बसाउँदा विभिन्न क्षेत्रका विज्ञ, सर्वसाधारण तथा राजनीतिज्ञको राय लिनुपर्छ ।’

नयाँ सहर विकास गर्ने स्थानमै आयोजनाको कार्यालय स्थापना गरिएको पनि उनले बताए । ‘जनताका समस्या एकातिर छन् कार्यालय अर्कोतिर, कर्मचारीले जनतासँग जोडिएर काम गर्न पाएनन् त्यसकारण सम्बन्धित सहरमै कार्यालय स्थापना गरेका हौं’ उनले भने, ‘अब चाँडो विकास

हुन्छ ।’ आयोजनाका अनुसार अछामको साँफेबगर र रुकुमको चौरजहारीमा सामान्य भौतिक संरचना निर्माण भइसकेका छन् । केही नयाँ प्रस्तावित सहर नगरपालिका भइसकेको भन्दै उनले त्यसको सम्भाव्यता अध्ययन पुन: गर्नुपर्ने बताए । ‘सहरको क्षेत्रफल बढेको छ, परामर्शदातालाई क्षेत्रफल अध्ययन गरेर विस्तृत रूपमा प्रतिवेदन तयार गर्न निर्देशनसमेत दिएका छौं’ उनले भने । यस आर्थिक वर्षमा विस्तृत अध्ययनका लागि करिब ४४ करोड रुपैयाँ छुट्याइएको उनले बताए । पूर्ण सहर विकासका लागि करिब ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने भन्दै उनले विस्तृत अध्ययनपछि बजेटको खाका बढ्न सक्ने बताए ।

मानन्धरका अनुसार प्रत्येक सहर विकासका लागि ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । १ हजार ७ सय ७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गमा आधुनिक सुविधा सम्पन्न सहर बनाएर प्रत्येकमा करिब १ लाख व्यक्ति बसाउने योजना सरकारको छ । ‘पहाडी सहरमा शिक्षा, स्वास्थ्य, सञ्चारको विकास भए राजधानी र तराईमा बसाइँ सर्नेक्रम रोकिन्छ,’ मानन्धरले भने । ती स्थानमा खानेपानी, सडक, बत्तीलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको उनले बताए । उपत्यकालगायत मुलुकका ठूला सहरमा मानवीय चाप कम गर्न सरकारले मध्यपहाडी लोकमार्गमा नयाँ सहर विकास गर्न लागेको हो । ती ठाउँमा भौतिक पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइँसराइँको क्रम बढ्ने र बसोबासको चाप बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०७२ श्रावण १४ ०९:३१

Contact US


नयाँ सहर आयोजना समन्वय कार्यालय
बबरमहल, काठमाण्डौं
फोन :
फ्याक्स :
इमेल : newtownp1@gmail.com

© New Town Project